Sunday, December 24, 2017

उपन्यास : अर्की आइमाई

~नीलम कार्की नीहारिका~
 
उपन्यासको थालनी यात्राको क्रममा रहेको मुल पात्रको नेपाल भ्रमणबाट शुरु भएर नेपालमा नै गएर टुङिगएको छ । कथावाचन शैलीका माध्यमबाट कथावस्तु अगाडि बढ्दै गएको छ । आत्मकथा शैलीमा प्रस्तुत गरिएको अर्की आइमाई उपन्यासले एउटी महिलाको कष्टमय जीवनको चित्रण गरेको छ । उपन्यासलाई फ्ल्यास बैंक शैलीमा प्रस्तुत गरिएको छ भने आख्यान साहित्यको सशक्त पक्ष मानिने कुतुहलताको निर्वाह उपन्यासकारले सजिवताका साथ गरेकोले कथावस्तु र घटनाक्रम एकपछि अर्को गर्दै बग्दै गएको पाइन्छ । तर कतै कतै कुतुहलतामा अवरोधमा आएका छन् । उपन्यासले अमेरिकाको आप्रवासी जीवन शैली र त्यहाँ हुनेगरेको मानव तस्करीका विभिन्न घटनाक्रमलाई उदाङ्गो पारेर देखाइदिएको छ ।

अमेरिका स्वप्नको देश हो भने अमेरिका संघर्षको पनि देश हो भन्ने वास्तविकतालाई उपन्यासले देखाएको छ । काम नगरी बस्न नसकिने र त्यहाँ बस्नलाई अनैतिकबाट लिएर गैरकानूनी काम गर्नु पर्ने आप्रवासीहरुको बाध्यतालाई उपन्यासले देखाएको छ । अमेरिकामा आप्रवासीहरुको वास्तविक जीवन शैलीलाई देखाउदै त्यहाँ पुगेका र पुग्न चाहनेहरुको ईच्छा आकङ्छाहरुलाई विभिन्न पात्रका माध्यमबाट उपन्यासले समेटेको छ ।
 
(स्रोत : समीक्षा - अर्की आइमाई: अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा - डा गोबिन्दसिंह रावत )
 
(उपन्यास अंश : अर्की आइमाइ - यहाँ पढ्नुहोस्)

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



Click here to Download


 

Wednesday, November 1, 2017

उपन्यास : भोक र भित्ता

~दौलत विक्रम विष्ट~

भोक र भित्ताहरु (२०३८) दौलतबिक्रम बिष्ट द्वारा लिखित नेपाली साहित्यिक कृति हो । यो उपन्यासमा नेपालीहरूको गरीबिको यथार्थ चित्रण उच्च वर्ग र निम्न वर्ग वीचको द्वन्द लाई केलाईएको छ ।

उनका प्रकासित कृतिहरुमा: चपाईएका अनुहार मञ्जरी, एक पालुवा अनेकौँ याम, बिग्रिएको बाटो थाकेको आकाश, भोक र भित्ताहरु, ज्योति ज्योति महाज्योति, हिमाल र मान्छे, फाँसीको फन्दामा प्रदर्शनी (२०२३), गालाको लाली (२०२५), छाया (२०३१), घाउका सत्र चक्का (२०३५), आलो कथा (२०४०), आँसु त्यसै त्यसै छचल्किन्छ (२०४९), एक एकाङ्की दश कथा (२०५७) आदि रहेका छन् ।

यिनै कृतिहरु मध्येको श्रुतिसंवेग कार्यक्रममा "भोक र भित्ताहरु" उपन्यास अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यहाँ सङ्ग्रह गरिएको छ ।
ल सुनम न त !



                        Click Here to Download 

Tuesday, September 5, 2017

कथाहरु : अर्ली भाइ (कथा संग्रह)

~चिम्खोले काइँला~
 
साहित्यकार चिम्खोले काइँला (दूतबहादुर पुन) को तेस्रो पुस्तक, कथासंग्रह ‘अर्ली भाइ’ मा अर्ली भाइ, शान्तीको जिन्दगी, ठुलो भुल, मेजर पेन्सन खाउली, लाहुरेको सपना, मनकी रानी रजनी, रवीन भान्जा, कान्छीको जिन्दगी, फुलमती र निरुता भान्जी गरी जम्मा १० वटा कथाहरु समेटिएका छन् ।

यस कथा संग्रहमा रहेका कथाले बेलायतमा र विशेष गरी लाहुरे नेपाली समुदायका घटनाक्रमलाई समेटिएको छ । हाम्रो नेपाली समाजमा अहिले पनि यौन र यस संग यौन साहित्यका बारेमा मुख खुम्च्याउने अवस्था रहेपनि यस कथा संग्रहमा भने यौनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

२ सय वर्षको इतिहास बोकेको गोर्खाली सेनाले नचाहे पनि नेपाली लाहुरेको संस्कृति बनेको छ र त्यहाँको रहन सहन,संस्कृति, वातावरण, नियम कानुन र ति कुराहरु नबुझ्दा र मोजमस्तीले भोग्नु परेको पिडालाई कथामा समेटिएको छ । त्यस्तै पल्टन भित्रको अमुर्त घटना र सुन्दर भविष्यको लागी पेन्सनर जेष्ठ नागरिक संगको अनमेल विवाहलाई कथामा दर्शाइएको छ; यो कथा पद्दा पल्टने जिवन भोगेकाहरुले ति पात्रहरु आफै भएको अनुभुती हुनसक्नेछ । लेखकले सुनेर होइन आफैंले देखेर र भोगेर कथा लेखेकाले पुस्तकले विषयको गहिराइ समातेको छ ।’

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !

कथाहरु :
१. अर्ली भाइ
२. निलिमा भान्जी
३. शान्तीको जिन्दगी
४. रविन भाञ्जा
५. कान्छीको जिन्दगी
६. मनकी रानी राजनी
७. फूलमती 




                                 Click here to Download


 

Tuesday, July 4, 2017

लघु-उपन्यास : चुली

~सरुभक्त~

हिमाल आरोहणको इतिवृत्तभन्दा अमिल्दो नलाग्ने ‘चुली’ यथार्थमा मानवीय जिगीषा र जिजीविषाहरूको
साहसिक अभियानको राम्रो अभिलेख भइदिएको छ । आरोहण खतराको चुनौती स्विकार्ने साहस, सगरमाथा आरोहीको रोमाञ्चक अनुभव र अद्भुत भोगाइको सजीव आलेख रोचक छ र आकर्षक पनि ।

प्राकृतिक छवि अङ्कित गर्ने दृष्टिले मात्र होइन, सगरमाथाको विकरालता, जोखिम, दुर्घटना, आशङ्कित मृत्यु आदिको अनुभूति । र दुर्लङ्घ्य सगरमाथाको भूगोल, आरोहण वृत्तान्त, त्यससम्बन्धी प्राविधिक ज्ञान, वायुमण्डलीय चाप, आरोहणमा प्रयोग हुने औजार, दुर्गम स्थलका नाम आदिको जानकारीले ‘चुली’ एक गैरपर्वतारोहीको आरोहण लघुउपन्यास हो भनेर सायदै कसैलाई लाग्ला ।

(स्रोत : Web)


"श्रुतीसम्बेग" कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !




                              Click here to Download
 

जम्मा ७० पेजको उपन्यास एउटा पर्वतारोहीको सगरमाथा आरोहरणबारेको कथा हो । उपन्यासले चुलीको यात्रामा पाठकलाई हिंडाए पनि यो खासमा जीवनको चुलीको बयान हो । आरोहणका क्रममा आरोहीको आँखा ढाक्ने गरी फुरफुर उड्दै आउने हिउँ जस्तै पुस्तकको ठाउँठाउँमा दार्शनिक हरफ र काव्यिक मिठासले मन र मगज जिस्काउने तागत राख्छन् । भूमिकामा कृष्णचन्द्रसिंह प्रधानले यो लघु उपन्यासलाई ‘गद्यात्मक कविताजन्य अनुभूतिहरुको आलेख’ भनेका छन् ।

मान्छेभित्रको अटल आत्मविश्वास, लगन, जिज्ञासा र आशाले भरिएको शिखरको रुपमा सगरमाथा उभिएको छ कृतिमा । यो सगरमाथा मान्छेको अहम् हो, जीवनबोध हो । चुलीको यात्रालाई एउटा सिंगो जीवनयात्राका रुपमा पनि लिन सकिन्छ । ‘हिमालमा जोखिमहरु हुन्छन् । जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको एक सुन्दर कविता हो ।’ भनेर आरोहीमार्फत जीवनका चुनौतीहरुसँग पौंठेजोरी खेल्न प्रेरणाको प्रसार गरिएको छ । भौतिक रुपमा हिउँको टाँकुरा टेके पनि सार रुपमा मानवताको चुली टेक्नु नै जीवनको लक्ष्य हुनुपर्ने र सफलता मानिनुपर्ने कृतिको केन्द्रीय स्वर हो ।

नाम्चेदेखि हिंडेको पर्वतारोही कुनै गाइड र अन्य सहयोगीबिना नै सगरमाथाको टुप्पोमा एक्लै आफ्नै बर्गतले पुग्ने अठोटमा हिंड्छ । जीवनको सबै हिमाल एक्लै चढेको भनेर गर्वले छाती फुलाउने उसले ‘चुलीको यात्रा भनेको सधैं एक्लो यात्रा हो’ भन्ने मानेको छ । घरिघरि बिग्रने मौसम भूत बनेर जीवन र यात्रालाई तर्साउन आए पनि उसको उद्देश्यले ढाल बनेर प्रतिकूल अवस्थामा पनि हिंडाइराख्छ । ‘ऊसामु उसको उद्देश्य छ । उद्देश्यहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।’ भन्दै आरोहीले रोकिनु, थाक्नु, जम्नुलाई सधैं परपरै धकेल्छ ।

अचम्म लाग्छ, कहिल्यै सगरमाथाको आरोहण नगरेका लेखकले चुलीयात्राको एक-एक पाइला सचित्र रुपमा आँखामा उतार्छन् । लेखकको शक्ति र कल्पनाशीलताको उँचाइ भन्नु नै यही हो । आधारशिविरबाट ल्होत्से, नुप्चे, चाङटे, खुम्बट्से, पुमोरी चुली देखिए पनि सगरमाथा चुली नदेखिने कुरा हामी थाहा पाउँछौं । जिन्दगीमा हिउँको नाममा बरफ र असिना मात्रै देखेको/छोएको मेरो निम्ति चुली चढाइको जोखिम र मुटु कमाउने हिउँसँगको कुश्तीले जिउमा काँडा उमार्छन् । बरफ र हिउँ फरक कुरा हुन्, अझ हिउँ र हिमाल फरक कुरा ।

खुम्बु आइसफलको फेदीमा ५३ सय मिटरको उँचाइमा रहेको आधार शिविरसम्म उसले भरियाहरुको साथ लिन्छ । ‘आरोहण अभियानमा मान्छेको कुनै क्षति भएन, मात्र केही भरियाहरु मरे’ भनेर पहिलेपहिलेका अन्य निर्दयी आरोहीले भरियाहरुलाई मान्छे नै नगन्ने जस्तो छैन ऊ । चट्टानी हिउँमा उक्लिँदा ख्वाप्‌ख्वाप् गाड्नुपर्ने हिमबन्चरो जस्तै मानवतावाद उसको हतियार हो । दुःखको गहिरा-गहिरा खाल्डा पुर्ने उत्कण्ठासहित सर्वोच्च शिखरको पाउ परेका भरियाहरु आफैंमा दुःखका अलग-अलग टाँकुरा लाग्छन् ।  सिकिस्त बाउको उपचार खर्च जुटाउने विवशतामा जाकिएका, छोराछोरी पढाउने धोको साँचेका,  घरगृहस्थीको गर्जो टार्ने रनाहामा दौडिएका भरियाको लस्कर छ आधारशिविरमा । जसलाई थामथुम पार्न ऊ ‘जीवनमा दुःख छ, तर जीवन दुःख होइन’ भन्ने दर्शनको सिटामोल बाँड्छ ।

सहयात्रीलाई जीवनको सरलता सम्झाउने ऊ आफू चाहिं आफ्नो आरोहण सरल रेखामा अघि बढाउन सक्छ त ? ‘चुलीको यात्रा बेहोसीको यात्रा होइन’ भन्ने ऊ त्यो यात्रालाई होशपूर्वक टुंगोमा पुर्‍याउन सक्छ ?

(स्रोत : समीक्षा - सरुभक्तको चुली र ‘धुम थ्री’- जोतारे ढैब)





 

Friday, June 23, 2017

उपन्यास : साबिती

~जगदीश घिमिरे~

२०२७ सालमा 'लिलाम' छापिएर आएपछि जगदीश घिमिरे एक्कासी चर्चामा आए। निमुखा जनताका पक्षधर लेखक भनेर पञ्चायती सरकारका आँखामा पनि उनी चढिहाले। फलस्वरूप उनको अर्को उपन्यास 'साबिती' लाई प्रकाशित हुन हम्मे पर्‍यो। नाम चलेका (नचलेका पनि) प्रकाशकहरू उनको 'साबिती' पढ्दा नै तर्सेअनि उनीहरूले तत्कालै त्यसलाई 'क्रान्तिकारी' को उपाधि दिंदै 'हामी छाप्न सक्दैनौं' भनी तर्के। त्यस्तो वातावरणमा 'रचना' का सम्पादक रोचक घिमिरेले त्यो उपन्यासलाई आफ्नो पत्रिकाको एउटा अंक बनाएर लुसुक्क छापिदिए।

तिनताका छापिएका पत्रिकाहरू पनि अञ्चलाधीश कार्यालयमा जँचाएर पास भएपछि मात्र बिक्री–वितरण गर्न प्रकाशकलाई दिइन्थ्यो। सो, आफ्नै व्यास प्रेसमा छापिएको 'साबिती' भएको अंकलाई अञ्चलाधीश कार्यालयमा कसरी छिराउने र उकाल्ने भन्ने सारै 'जोखिमी' जुक्ति रोचकजीले निकालेर त्यो डरलाग्दो खेलमा सफल पनि भए। उनले कसरी के–के तारतम्य मिलाए कुन्नि, 'रचना' त्यहाँबाट पास भएर बाहिरियो, कुनै पनि पृष्ठमा कालो नपोती, बेदाग! तर, अञ्चलाधीश कार्यालयबाट पास भए तापनि केही समय 'रचना' गुप्तवास बस्यो, कन्सुत्लेहरूले सरकारी कानमा नपुर्‍याउन् भनेर। 'रचना' को त्यस अंकका छापिएका फर्माहरू नबिगारी प्रत्येकलाई छुट्टै पनि मुद्रित गरेर राखेको थियो व्यास प्रेसले। त्यसरी जगेडा राखिएका फर्माहरूबाट रोचकजीले 'साबिती' लाई कितापको रूप पनि दिइसकेका थिए। उनले लेखक जगदीशजी र आफन्तहरूको सल्लाहले त्यसलाई 'रचना' भन्दा पैले बजारमा ल्याएर बाहिर जिल्लाका सकेका ठाउँहरूमा पठाइदिए। यसरी राजधानीमा हल्लाखल्ला हुन थाल्दा नथाल्दै 'साबिती' मोफसलमा 'बमसेल' भइसकेको थियो।

 
(स्रोत : समीक्षा - फरक बाटोको बटुवा - कमल दीक्षित)
 

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                         Click here to Download


 

Thursday, June 15, 2017

उपन्यास : उर्गेनको घोडा

~युग पाठक~

उर्गेनको घोडा युग पाठकद्वारा माओवादी जनयुद्धलाई आधार बनाएर रचना गरिएको उपन्यास हो। यस उपन्यासमा 'थाहा'अभियान्ता रूपचन्द्र बिष्टलाई पनि पात्रको रूपमा देखाइएको छ। जस्ले मान्छेहरूलाई चेतनाको दियो बाल्न कसरि मद्दत गरेका थिए भन्ने कुरा देखाएकाछन उपन्यासकारले। यो पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो।

म्हेन्दो यस उपन्यासकी प्रमुख पात्र हो भने पल्लभी म्हेन्दोको सारथि हुन्छे। तमाङ जातिको इतिहास खोतल्ने प्रयास गरिएको उपन्यासमा कसरि तामाङहरूले आफ्नो आदिभूमि तामसालिङ खस राजाहरू सँग हारेका थिए भन्ने कुरा देखाउन खोजिएको छ। याबेङ खोला तरेर जान नहुने गए कहिल्यै फर्किएर आउन नपाइने तमाङ जातिमा रहेको बिश्वास केबल रुडिबादि बाहेक केहि होइन र एतिहासिक याम्बु सहर तामसालिङहरूको धरोहर भएको कुरा बताइएको छ यस उपन्यासमा। यो उपन्यासमा म्हेन्दो लडाकुको कमान्ड हुन्छे जस्ले गुमेको तामाङहरूको तामसालिङ राज्य लगायत पिछडिएका ,उत्पिडनमा परेका ,दलित ,महिलाहरूको लागी लडेको र राज्य स्थापना गरि छाड्ने बताउछे।

"सुन्नेलाई सुनको माला"कार्यक्रममा पवनराज पौडेलको आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।

ल सुनम न त !




 

Tuesday, March 7, 2017

नियात्रा : मान्ठा डराएको जुग

~मोहन मैनाली~

उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौँ । झोलाबाट क्यामरा निकाल्यौँ । टाइपड निकाल्न थाल्यौँ । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे । उनी हामीसँग डराए जस्तो लाग्यो । ए दाइ नभाग्नूस् । हामी केही गर्दैनौँ । आफ्नो काम गर्नूस् हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए ।

मोहन मैनालीको पुस्तक मान्ठा डराएको जुगमा उल्लिखित यो प्रसंग बाजुराको पाण्डुसैनको हो । ०५९ को वर्षामा आफ्नै खेतमा काम गरिरहेका जुल्फे सार्की पत्रकारको क्यामरा र टाइपड निकाल्दा बन्दुक ठानेर भागेका थिए । पछि कुराकानी हुँदा वृत्तान्त थाहा पाएपछि आफू भाग्नुको कारण उनले यसरी उल्लेख गरेछन्, नौला मान्ठा आउँदा डर मान्दछौँ, हजुर । मान्ठादेखि मान्ठादेखि मान्ठा डराउने जुग आयो । (पृष्ठ १२६)

मोहन मैनालीले आफ्नो अघिल्लो पुस्तक उपल्लो थलोमा जस्तै मान्ठा डराएको जुगमा पनि ससाना कुरालाई सुक्ष्म ढंगले उतारेका छन् । कनीकुथी ठूलाबडाहरूको भनाइ उद्यृत गर्ने, कथित ठूलाहरुका वरिपरि परिक्रमा गर्ने र तिनीहरुका वान्ता आउलान् जस्ता बनावटी भनाइले पुस्तकका पाना रंग्याउने परम्पराबाट भिन्न देखिँदै आएका यी खोज पत्रकारले जीवनसँग ठूलो अर्थ राख्ने गाउँका ससाना प्रसंगहरूलाई पुस्तकमा कलात्मक रूपमा उतारेका छन् । हिंसा प्रतिहिंसाको अचानो सर्वसाधारण कसरी बनेका थिए ? पूर्वको संखुवासभादेखि पश्चिमको बाजुरा पुग्दासम्म उनले देखेका कारुणिक कथाहरू जस्ताका तस्तै पुस्तकमा राखेका छन् ।

पुस्तकमा द्वन्द्वका बेला सर्वसाधारण कसरी पिल्सिएका थिए भन्ने कुरा मिहिन रूपमा उतारिएको छ । माओवादी निर्मूल पार्ने नाममा सरकारी फौजले गरेको विवेकहीन कारबाहीले मानिसहरू जबर्जस्ती माओवादीका बन्नुपरेका दृष्टान्तहरू पनि पुस्तकमा पढ्न पाइन्छ । कालिकोटदेखि बाजुरासम्मका त्यस्ता प्रसंगले माओवादी युद्ध चर्किनुमा सरकारी फौजको पनि हात थियो भन्ने निष्कर्षमा पुग्न करै लाग्छ । बिनाअनुसन्धान, बिनाप्रमाण र बिनाकिटानी पहिला मानिसलाई मार्ने र त्यसपछि सरकारी सञ्चारमाध्यमबाट आतंककारी मारिएको खबर प्रसारण गर्ने तरिकाले आम मानिस कति पीडित थिए भन्ने कुरा पुस्तकमा कालिकोट र बाजुराका दुई प्रसंग अघि सारेर देखाइएको छ । फलानो ठाउँमा पुग्यौँ, चिया पियौँ, फलाना फलाना थियौँ जस्ता दोहोरिरहने प्रसंगलाई झिकिदिने हो भने मोहन मैनालीको मान्ठा डराएको जुग द्वन्द्वकालीन नेपालको उत्कृष्ट ऐनाका रूपमा पाठकसमक्ष आएको छ ।

द्वन्द्वले उजाडिएका बस्तीका सुस्केरा पुस्तकमा पाइन्छन् । दोहोरो मारबाट आफ्ना प्रियजनहरू गुमाएर पनि बाँच्न अभिशप्त ती दु:खी मानिसको स्पन्दन पुस्तकले समेटेको छ, जुन जोकसैले उतार्न मुस्किल पर्दछ । मोहन मैनालीले त्यो हिम्मत गरेका छन् र वास्तवमै द्वन्द्वका बेला आवाज हराएकाहरूलाई आवाज दिने कोसिस गरेका छन् ।
(स्रोत : बाँचेकाहरूका करुण कथा - पूर्ण पाठ यहाँ पढ्नुहोस् ) 



              
              Click Here to Download.
 

Friday, January 20, 2017

संस्मरण : रेड स्क्वायर

~कृष्ण धरावासी~
 
कृष्ण धरावासी लेख्नकै निम्ति जन्मिएका हुन् भन्यो भने कसैको आपत्ति रहँदैन । रहोस् पनि कसरी, उनका उपन्यास/कथा पढेर बर्बरी आँसु झार्नेहरूको ठूलो संख्या छ । पछिल्ला वर्षमा धरावासीको गर्भधारण क्षमता देखेर धेरैले जिब्रो काढ्छन् । नकाढून् पनि कसरी ? प्रत्येक वर्षको सिँढीमा उनी जुम्ल्याहा, तिम्ल्याहा किताब जन्माउँछन् । रसिया भ्रमणको सम्झना समेटिएर लेखिएको पुस्तक रेड स्क्वायर त्यसैको पछिल्लो अध्याय हो ।

पुस्तकमा ९ जुन २०१२ देखि १२ जुलाईसम्म समेटिएको यात्रा वृत्तान्त छ । रसियन साहित्य धेरथोर पढेका र रुसको कम्युनिस्ट व्यवस्थालाई आफ्नै शैलीमा बुझेका धरावासी पुस्तकभरि आफ्नै विश्वासमाथि विमर्श गर्छन् । रुसी साहित्यमाथिको आफ्नो दृष्टिकोण र साहित्यप्रेमी नेपालीले नाम सुनेका रसियन साहित्यकारको जीवनी धेरै र तिनको लेखनमाथि व्याख्या पनि गर्छन् ।

रसियामा देखेका प्रत्येक ठाउँ र सन्दर्भको वर्णन गर्दा गर्दै धरावासी अतीतमुखी हुन्छन् । उनी आफ्ना बुझाइको सीमितता, आफ्नो भोगाइका विरोधाभासपूर्ण सन्दर्भहरूको वर्णन पनि मीठो शैलीमा गर्छन् । तुलनात्मक अध्ययन पुस्तकको विशेषता नै हो । तर, कतिपय सन्दर्भमा धरावासी त्यसै त्यसै बहकिन्छन् । उनको बहकिने मनले लेखनीलाई ठाउँठाउँमा झिँजोलाग्दो बनाइदिन्छ ।
धरावासीको पुस्तकमा आफ्नो नाम समेटिएको थाहा पाएर तिनीहरू औधी खुसी हुँदा हुन् । तर, पाठकहरू पटक्कै खुसी हुन सक्दैनन् । बग्रेल्ती नामको लस्करले कतै कतै त प्याराग्राफ नै भरिएको छ । मूल्य तिरेर धरावासीको गहन लेखनी पढ्न चाहने पाठकमाथि यो त अन्याय नै हो ।

२१ उपशीर्षकमा बाँडिएको पुस्तकले रसियाको समाजको भन्दा ‘वर्ड आई भ्यू’ मात्र राखेको छ । यसमा कम्युनिस्ट राजनीतिको इतिहास, साहित्य र समृद्धिको झलक आउँछ । यात्रा क्रममा कैयन् दृश्यको वर्णनमा धरावासीले रसियामा बसेर व्यवसायको सञ्जाल फिजाइरहेको गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको सहायता लिएका छन् ।

कैयन् प्रसंग दोहोरिएका छन् पुस्तकमा । केही केही त लाइन नै ‘कपी पेस्ट’ गरिएजस्ता देखिन्छन् । जसले पुस्तकमा पर्याप्त सम्पादन नभएको पुष्टि गर्छ । गाडी चालक भ्लादिमिरको व्याख्या ३२ र ५२ पृष्ठमा उस्तै–उस्तै देखिन्छ । १ सय १० पृष्ठको दोस्रो अनुच्छेदको सुरु र १ सय २० दोस्रो अनुच्छेद उस्तै छ । १ सय २६ पृष्ठको पहिलो र १ सय ४७ पृष्ठको दोस्रो अनुच्छेदमा एउटै तथ्य छ । यस्तो दोहोरिने उपक्रम कैयन् पानामा छन् । त्यसले पुस्तकलाई कमजोर बनाएको छ । कमजोरी जति भए पनि धरावासी आफ्नो लेखनीमा इमानदार भने देखिन्छन् । पृष्ठ १ सय ६ मा धरावासीले स्वीकारेकै छन्, ‘भ्रमणका क्रममा टिपोट गर्ने बानी अझै बसेको छैन । त्यही भएर ठाउँ, पात्र, घटनाबारे सम्झिन र सिलसिला मिलाएर लेख्न गाह्रो पर्दैछ ।’

पृष्ठ १ सय ४९ मा धरावासीले हाकाहाकी लेखेका छन्, ‘म हरेक यात्रालाई पुस्तकको रूप दिने कोसिसमा छु ।’ यसैबाट बुझिन्छ, धरावासी आफूले देखेका, जानेका, बुझेका, भोगेका र अनुभूत गरेका सबै कुरा लेख्न चाहन्छन् । त्यही भएर उनले झिनामसिना र उल्लेख नगरे पनि हुने सन्दर्भसमेत नछुटाई लेखेका छन् । तर, यसरी लेखिएका पुस्तक खरिद गर्ने पाठकलाई न्याय गर्छ कि गर्दैन ? धरावासीको लेखनयात्रामा यो प्रश्न तरबार बनेर झुन्डिएको छ । जसको फैसला पाठकको अदालतमा कालक्रममा बिस्तारै गर्ला !

(स्रोत : समीक्षा - धरावासीको हतारको कमजोर रचना 'रेड स्क्वायर' - जनकराज सापकोटा)
 

"श्रुतीसम्बेग"कार्यक्रममा अच्युत घिमिरे 'बुलबुल'को आवाजमा यो उपन्यास सङ्ग्रहित भएको छ ।


ल सुनम न त !



Click here to Download