Tuesday, January 10, 2012

Samaya trasadi - समय त्रासदी

~सरुभक्त~

भक्तराज श्रेष्ठ 'सरुभक्त' बाट लिखित 'समय त्रासदी' २०५३ सालमा प्रकाशित भएको उपन्यास हो । मानव संबेदनालाई आधार बनाएर लेखिएको यो उपन्यासले मान्छेका संबेग र अन्तर्द्वन्दलाई खोतल्न खोजेको छ र गहिराइ सम्म पुगेको पनि छ । 

ल सुनम न त

Listen and Download Samaya Trasadi

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6

Tuesday, January 3, 2012

Desh Le Hareko Yuddha - "देशले हारेको युद्ध"

~हर्क खडायत~
 
प्रेम र युद्धमा एउटा ठूलो फरक हुन्छ । प्रेममा हार्नेले पनि जित्छ, युद्धमा जित्नेले पनि हार्छ । कहिलेकाहीं हारजित नभई युद्धविराम पनि नहुने होइन । यस्तो बेलामा लड्ने दुवै पक्षले सम्झौताका नाममा आ-आफ्नो मुख लुकाए पनि, दुवै नहारेको भ्रममा रमाए पनि उनीहरूले हराइरहेका हुन्छन् अरू अनगिन्ती युद्ध नलड्नेहरूलाई, साँढेको जुधाइमा बाच्छा बन्न विवश निर्दोष मानिसहरूलाई । त्यसैले युद्ध भनेको नै एउटा डरलाग्दो खेल हो । तर पनि विभिन्न बहाना खोजेर मान्छे युद्ध गरिरहन्छ, लडिरहन्छ, भिडिरहन्छ एकआपसमा । यो बहुलठ्ठीमा कहिले ऊ आफू हार्छ, कहिले जित्छ । कहिले उसले हराउँछ समाजलाई र देशलाई ।

संसारमा जहाँ जहिले पनि युद्धका विभीषिकाले मानिसहरूलाई पिरोलेको छ, त्यसका कथा साहित्य, सिनेमा र कलाका अरू आयामहरूबाट व्यक्त भएका छन् । प्रायः लेखक-कलाकारले प्रश्न उठाउने गर्छन्, केका लागि, कसका लागि र किन लडिन्छन् युद्धहरू ? आखिर के पाइन्छ लडेर ?

हाम्रो समयले पनि एउटा त्यस्तै युद्ध देखेको छ । त्यसैले स्वभावतः त्यसको दुःखाइ आजकलका साहित्यमा पोखिने गरेको छ । विकट बाजुराका लेखक हर्क खडायतले त्यस्तै एउटा उपन्यास लेखेका छन्, 'देशले हारेको युद्ध ।'

देश के हो ? सिमाना वा भौगोलिक हिसाबले कित्ता काटिएको, नक्सामा कोरिएको एउटा भूभाग मात्र देश हो र ? देशको माया किन लाग्छ मानिसलाई ? देश भनेको सम्बन्ध हो, आफन्त, नातागोता, साथीसंगी, संस्कार र संस्कृति हो देश । त्यसैले जनयुद्धको नाममा एउटा नेपालीले अर्को नेपालीलाई सोत्तर पार्दा देश हारेको थियो । माओवादीले सेनालाई वा सेनाले माओवादीलाई एम्बुसमा पार्दा र घेर्दा दुवै अवस्थामा देश आत्तिएको थियो, कराएको थियो । गोली बारुद जुन पक्षको भए पनि, दुवै ढल्दा देश रोएको थियो । कसैले त्यो सुन्यो वा सुनेन त्यो भिन्दै कुरा हो । एउटा पक्षले अर्को पक्षलाई बेपत्ता पार्दा तिनका आफन्तसँगै देश पनि हराएकालाई खोज्न हिँडेको थियो । त्यो कसैले थाहा पायो कि पाएन भन्ने पनि अलग्गै कुरा हो । तसर्थ कागजका पानाहरूमा युद्ध सकिए पनि, भौतिक रूपमा एउटामाथि अर्को जाइलाग्न छोडे पनि आफन्तहरू गुमाएकाहरूका लागि त युद्धको घाउ निको हुन निकै समय लाग्छ । पुस्तौंपुस्तासम्म चहर्‍याउँछ युद्धको घाउ ।

हुन त कथावस्तुमा तपाईं हामीले थाहा नपाएका वा जान्न बुझ्न बाँकी कुरा केही छैनन् । किनभने यो हाम्रो पुस्ताले नै देखेको, भोगेको युद्ध हो । किन यो युद्धमा होमिए मानिसहरू र त्यसले उनीहरूको एउटा निर्दोष र नियमित चक्रमा घुमिरहेको जीवनलाई कसरी उथलपुथल पारिदियो भन्ने कुराको वरिपरि नै खडायतले कथाका तानाबाना बुनेका छन् । तर पनि उनको निष्कपट लेखाइ र कसैको वकालत नगर्ने दृष्टिकोणले पाठकलाई समात्छ । समाजका साधारण पात्रहरूको साधारण कथा उठाएका हुनाले आम पाठकका लागि आफूलाई आत्मसात् गरेर अघि बढ्न अप्ठ्यारो छैन । उनको म पात्र युद्धमा होमिएको बेला युद्धमैदानको त्रासदी पनि लेखेका छन् । त्यति हुँदा पनि लेखकले प्रत्यक्ष कुनै वादको वकालत गरेका छैनन्, जटिल मनोविज्ञान वा दर्शनको पेटारो खोलेका छैनन् ।

त्यति हुँदाहुँदै पनि बेलाबेला उनले गहिरो कुराहरूलाई पनि अभिव्यक्त गरेका छन् । केही त्यस्ता सुन्दर विचारहरू उनले लेखेका छन् । तर त्यस्तो बेलामा कतैकतै उनको वाक्य संयोजन लम्बेतान हुन जान्छ र आफैंमा अलमलिन पुग्छ । अलिकति सम्पादनमा बढी मेहेनत गरिदिएको भए तिनले भन्न खोजेका कुरा अझ स्पष्ट र शक्तिशाली हुन्थे होलान् । त्यसको एउटा उदाहरण हो, उनको म पात्रले कौसीमा बसेर सोच्छ, 'दृष्टिलाई टाढाटाढा पुर्‍याउँदा दिउँसो पनि नदेखिने संसार भेटिँदो रहेछ । त्यसैले त मान्छेले छर्लंग उज्यालोमा पनि सबै संसार देख्न सकेको हुँदैन । यो प्रकृतिले नियम नै यस्तै बनाएको छ । मान्छेको दुइटा आँखा अगाडि भएजस्तै पछाडि पनि दुइटा आँखा भइदिएको भए सायद मान्छेले पछि हुने कुरा पनि आजै देख्थे होलान् । तर त्यस्तोमा सायद जीवन जिउनुको मज्जा नै हुँदैनथ्यो होला, घटना थाहा भएको कथा सुनेजस्तै ।'

समग्रमा हर्क खडायतको उपन्यास 'देशले हारेको युद्ध' पढ्दा उनीभित्रको संवेदनशील प्राणीसँग पाठकको साक्षात्कार हुन्छ । उनको यो निश्छल लेखाइमा बेलाबेला बालसुलभ सुन्दरता देखिन्छ । थुप्रै बाजुरेली ठेट शब्दहरूसँग पनि पाठकहरू परिचित हुन पाउँछन् । सबैभन्दा मुख्य कुरो उपन्यासको शीर्षक अत्यन्त सार्थक छ । किनभने आजको वर्तमान जे भए पनि हिजोको त्यो युद्ध हारेको त देशले नै हो नि ।

ल सुनुम न त है

Listen and Download Desh Le Hareko Yuddha .

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6