Wednesday, May 23, 2018

उपन्यास : अविरल बग्दछ इन्द्रावती

~रमेश विकल~

बग्नु नदीको विशेषता हो । यसकारण कि त्यो उसको नियमितता हो । अवरोधको आकस्मिकता पन्छाएर अग्रप्रवाहसँगै सागरको नीलिमा चुम्नु उसको चरित्र हो । केही नदीमा पानीसँगै जीवन पनि बगिरहन्छ ।इन्द्रावतीमा सदियौंदेखि निमुखा माझी, दनुवारहरूको पसिनाका थोपा बगेका छन् । र त, त्यसको रङ निख्खर नीलो छ, आजसम्म । इन्द्रावतीको भँगालोलाई अँगालोमा बेर्दै रह र दहमा जाल फ्याँक्नु, पानीसँग निर्मम सिँगौरी खेल्दै दुवाली फर्काउनु, ढडिया, बल्छी थाप्नु र उदयाचलदेखि अस्ताचलसम्म इन्द्रावतीको बरदानस्वरूप जे–जति माछा, गँगटा हात लाग्छन्, तिनैले घरको चुल्हो जगाउनु ती माझीहरूको दैनिकी हो, आजपर्यन्त ।

साहु–महाजनहरूको बिरौटा बिराएर मात्रै मुखमा माड नलागेपछि इन्द्रावतीको भंगालो तेर्स्याएर हिउँदे घट्ट थाप्ने होस् या डुंगा खियाएर बटुवाहरूलाई नदी तारेर– उनीहरू जीवनमा जीजिविषा साँच्छन् । जीवनयापनका नवीन साधनहरूको खोजीमा यायावरी गर्नुको सट्टा त्यही इन्द्रावतीका पाखापखेराको भरोसामै दुःखी जीवन बिताउने तिनै माझीहरूको अन्त्यहीन कथा लेखे रमेश विकलले । ‘अविरल बग्दछ इन्द्रावती’ त्यही दुःखी कथा हो । सिपाघाटदेखि दोलालघाटसम्म बसोबास गर्ने माझीहरूको जीवन हो । साहुमहाजनसँग मानो–मुट्ठी मागेर जीविका चलाउनुपर्ने माझीहरूको निरीह याचना नजिकबाट नियालेका विकललाई १९३० को दशकदेखि नै तिनका कथा लेख्ने हुटहुटी जाग्यो ।
र त, विकलले उपन्यासमा भनेका छन्, “इन्द्रावती नदी किनारका धर्ती त्यहाँ रुने, हाँस्ने अस्तित्वका लागि डोलाउने माझीका जीवनलाई मैले नजिकबाट हेरेँ, त्यही स्थूल अभिव्यक्ति हो– उपन्यास ‘अविरल बग्दछ इन्द्रावती ।’

"अविरल बग्दछ इन्द्रावती" रमेश विकलद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।  (स्रोत : "यसरी अविरल बग्यो इन्द्रावती" समीक्षा बाह्रखरी डट कम)

खगेन्द्र नेपालीको स्वरमा अडिओ किताबको स्वरुपमा आएको संस्करण सङ्ग्रहित भएको छ ।

ल सुनम न त !



                           Click here to Download


 

No comments:

Post a Comment