Tuesday, March 7, 2017

नियात्रा : मान्ठा डराएको जुग

~मोहन मैनाली~

उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौँ । झोलाबाट क्यामरा निकाल्यौँ । टाइपड निकाल्न थाल्यौँ । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे । उनी हामीसँग डराए जस्तो लाग्यो । ए दाइ नभाग्नूस् । हामी केही गर्दैनौँ । आफ्नो काम गर्नूस् हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए ।

मोहन मैनालीको पुस्तक मान्ठा डराएको जुगमा उल्लिखित यो प्रसंग बाजुराको पाण्डुसैनको हो । ०५९ को वर्षामा आफ्नै खेतमा काम गरिरहेका जुल्फे सार्की पत्रकारको क्यामरा र टाइपड निकाल्दा बन्दुक ठानेर भागेका थिए । पछि कुराकानी हुँदा वृत्तान्त थाहा पाएपछि आफू भाग्नुको कारण उनले यसरी उल्लेख गरेछन्, नौला मान्ठा आउँदा डर मान्दछौँ, हजुर । मान्ठादेखि मान्ठादेखि मान्ठा डराउने जुग आयो । (पृष्ठ १२६)

मोहन मैनालीले आफ्नो अघिल्लो पुस्तक उपल्लो थलोमा जस्तै मान्ठा डराएको जुगमा पनि ससाना कुरालाई सुक्ष्म ढंगले उतारेका छन् । कनीकुथी ठूलाबडाहरूको भनाइ उद्यृत गर्ने, कथित ठूलाहरुका वरिपरि परिक्रमा गर्ने र तिनीहरुका वान्ता आउलान् जस्ता बनावटी भनाइले पुस्तकका पाना रंग्याउने परम्पराबाट भिन्न देखिँदै आएका यी खोज पत्रकारले जीवनसँग ठूलो अर्थ राख्ने गाउँका ससाना प्रसंगहरूलाई पुस्तकमा कलात्मक रूपमा उतारेका छन् । हिंसा प्रतिहिंसाको अचानो सर्वसाधारण कसरी बनेका थिए ? पूर्वको संखुवासभादेखि पश्चिमको बाजुरा पुग्दासम्म उनले देखेका कारुणिक कथाहरू जस्ताका तस्तै पुस्तकमा राखेका छन् ।

पुस्तकमा द्वन्द्वका बेला सर्वसाधारण कसरी पिल्सिएका थिए भन्ने कुरा मिहिन रूपमा उतारिएको छ । माओवादी निर्मूल पार्ने नाममा सरकारी फौजले गरेको विवेकहीन कारबाहीले मानिसहरू जबर्जस्ती माओवादीका बन्नुपरेका दृष्टान्तहरू पनि पुस्तकमा पढ्न पाइन्छ । कालिकोटदेखि बाजुरासम्मका त्यस्ता प्रसंगले माओवादी युद्ध चर्किनुमा सरकारी फौजको पनि हात थियो भन्ने निष्कर्षमा पुग्न करै लाग्छ । बिनाअनुसन्धान, बिनाप्रमाण र बिनाकिटानी पहिला मानिसलाई मार्ने र त्यसपछि सरकारी सञ्चारमाध्यमबाट आतंककारी मारिएको खबर प्रसारण गर्ने तरिकाले आम मानिस कति पीडित थिए भन्ने कुरा पुस्तकमा कालिकोट र बाजुराका दुई प्रसंग अघि सारेर देखाइएको छ । फलानो ठाउँमा पुग्यौँ, चिया पियौँ, फलाना फलाना थियौँ जस्ता दोहोरिरहने प्रसंगलाई झिकिदिने हो भने मोहन मैनालीको मान्ठा डराएको जुग द्वन्द्वकालीन नेपालको उत्कृष्ट ऐनाका रूपमा पाठकसमक्ष आएको छ ।

द्वन्द्वले उजाडिएका बस्तीका सुस्केरा पुस्तकमा पाइन्छन् । दोहोरो मारबाट आफ्ना प्रियजनहरू गुमाएर पनि बाँच्न अभिशप्त ती दु:खी मानिसको स्पन्दन पुस्तकले समेटेको छ, जुन जोकसैले उतार्न मुस्किल पर्दछ । मोहन मैनालीले त्यो हिम्मत गरेका छन् र वास्तवमै द्वन्द्वका बेला आवाज हराएकाहरूलाई आवाज दिने कोसिस गरेका छन् ।
(स्रोत : बाँचेकाहरूका करुण कथा - पूर्ण पाठ यहाँ पढ्नुहोस् ) 



              
              Click Here to Download.
 

No comments:

Post a Comment