Tuesday, October 22, 2013

Shanta - शान्ता

~पुरुषोत्तम दाहाल~


“म देवघाट जाने विचार गर्दैछु। मेरो जीवन अवधि अब दुई महीनाभन्दा बढी छैन। दुई महीनासम्म ईश्वरलाई र आफूलाई यस सुन्दर धर्तीमा ल्याइदिने पितृहरूको स्मरण गरेर बस्नेछु। केही काम असल गरेको भए सम्झिइरहनेछु होला। नराम्रो भएको भए क्षमा हुनेछ।”
कलेजो क्यान्सरबाट पीडित डा. गोविन्द शर्मा जीवनका अन्तिम दुई महीनाका लागि यस्तै योजना बुनिरहेका हुन्छन्। मेडिकल डाक्टर भए पनि शर्मासँग उपचार खर्चको अभाव थियो। कलेजो दिन पनि कोही तयार थिएन। त्यसैले, डा. शर्मा अन्तिम योजना बनाउन थालेको थाहा पाएर भान्जी शान्ता दाहालले टेलिफोनमा भनिन्, “'चिन्ता नगर्नुस्, मामालाई कलेजो दिन म तयार छु।” एक वर्षअघि यी मामाभान्जीबीच भएको यस्तो संवादलाई समातेर पत्रकार पुरुषोत्तम दाहालले लेखेको उपन्यास शान्ता अहिले बजारमा छ।
दाहाल पत्नी शान्ताले कलेजो क्यान्सरबाट पीडित मामा गोविन्द शर्मालाई बचाउने निर्णय गरेपछि काठमाडौंबाट शुरू भएको उपन्यास भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा सफल प्रत्यारोपण भएपछि सकिन्छ। उपन्यास २८ पुसदेखि ८ फागुन २०६९ सम्मका ४० दिनका घटनामा केन्द्रित छ। उपन्यासमा शान्तासहित केही पात्रको वास्तविक नाम नै राखिएको छ। उपन्यासमा 'कथंकदाचित शान्तालाई केही भइहाल्यो भने' भन्ने चिन्ताबाट ग्रस्त लेखकको मनोदशा पनि बुझ्न सकिन्छ। किनकि, शान्ता स्वयं अस्वस्थ थिइन्। अनेक आशंकाग्रस्त लेखक श्रीमती र मामाससुरालाई मेदान्त अस्पतालमा भर्ना गरेपछि झनै चिन्तित हुन्छन्। शान्ताको परीक्षणपछि अस्पतालले उनको कलेजो प्रत्यारोपणयोग्य छ भनेपछि उनी र डा. शर्मालाई शल्यक्रिया कक्षमा लगिन्छ, जुन उपन्यासको उत्कर्ष हुन पुगेको छ।
शान्ताले मामालाई बचाउन आफ्नो कलेजोको टुक्रा दिएर स्वार्थी समाजमा करुणाको उदाहरण प्रस्तुत गरेकी छन्। डा. शर्मा अहिले आफ्नो पेशामा फर्केका छन्। सेवाका नाममा व्यापार गर्ने डाक्टर समूहमा नपर्ने उनी आफूले बचाएका बिरामी संख्या बढाइरहेका छन्। तत्कालीन रानी कोमलको निजी डाक्टर, त्रिविविका उपकुलपति र शिक्षण अस्पताल महाराजगन्जको निर्देशक भइसकेका डा. शर्मासँग आफैंलाई क्यान्सर हुँदा उपचार खर्च नभएको कुरा आफैंमा मर्मस्पर्शी छ। जीवनमा पैसाको पछि नलाग्दा डा. शर्मा यस्तो कथाको वास्तविक पात्र बन्न पुगे।
उपन्यासमा स्वार्थी आफन्तहरूको चित्रणसँगै विदेशी भूमिमा मजदूरीबाट धानिएका र अध्ययनका लागि बसेका नेपालीहरूले नेपालका एक जना असल डाक्टरको उपचारमा पुर्‍याएको सहयोगको मनछुने वर्णन छ। भाषिक सरलताले ज्यादै पठनीय बनाएको संस्मरणात्मक शैलीको यो उपन्यास पढ्दा पाठक धेरै ठाउँमा द्रवित हुन्छन्। कलेजो रोगीले उपचार पाएपछि तयार भएको शान्ता को बिक्रीबाट उठ्ने रकम कलेजो रोगीहरूकै उपचार कोषमा जम्मा गर्ने घोषणा उपन्यासकार दाहालले गरेका छन्।
रामजी दाहाल(source : Himal)
Listen and Download Shanta


भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10 (Interview with Purushotam Dahal)
भाग-11
भाग-12
भाग-13

No comments:

Post a Comment